जगदम्बा स्टिल उद्योगमा भीषण आगलागी

बारा, जेठ १७- बारा जिल्ला सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आज साँझ ७ बजे भीषण आगलागी भएको छ।

उद्योगमा रहेको जीआई प्लान्टको ट्याङ्कीमा वायर सर्ट हुँदा भएको आगलागीबाट करिब रु एक करोड मूल्य बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक हरिनाथ योगीले जानकारी दिए।

सशस्त्र, जनपथ प्रहरी र स्थानीयको सहयोगमा सिमरा विमानस्थल, वीरगञ्ज उपमहानगरपालिका र कलैया नगरपालिकाको वारुणयन्त्रको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

पथलैया वीरगञ्ज औद्योगिक करिडोरको स्थानीय क्षेत्रमा वारुणयन्त्र नभएकाले हवाई विमानका लागि मात्र राखिएको एकमात्र वारुणयन्त्र प्रयोग गरिए पनि वीरगञ्ज र कलैयाबाट वारुणयन्त्र घटनास्थलसम्म आइपुग्न समय लाग्ने भएकाले उद्योग क्षेत्रमा आगलागी हुँदा बढी क्षति हुने गरेको नेपाल बोर्ड लिमिटेडका कर्मचारी कुलबहादुर गुरुङले बताए।

साना-ठूला गरी एक सयभन्दा बढी उद्योग रहेको पथलैया वीरगञ्ज औद्योगिक क्षेत्रमा वारुणयन्त्रको अभाव रहेकाले व्यवस्था गर्न आवश्यक रहेको उद्योगीहरू बताउँछन्। रासस
Tags: ,