एमाले फुटाउने जनजातिको अन्तिम तयारी उपाध्यक्ष राईको नेतृत्वमा नयाँ पार्टी बन्ने


१७ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अशोक राईसहितका आदिवासी जानजाति र मधेसी नेताहरुले नयाँ पार्टी गठन गर्ने भएका छन् । पार्टी नेतृत्वले आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतका पिछडिएका वर्गहरुले अधिकार पाउने अन्तिम समयमा आएर धोका दिएकाले एमाले छाड्न लागेको उनीहरुले बताएका छन् ।

मंसिर ७ गते हुने भनिएको संविधानसभा निर्वाचनलाई लक्षित गरी नयाँ पार्टी गठनको गृहकार्य थालिएको बैकल्पिक पोलिटव्युरो सदस्य विजय सुुब्बाले जानकारी दिनुभयो । ‘४० वर्ष भयो एमालेमा लागेको । तर, संविधानसभाबाट हाम्रो अधिकार सुनिश्चित हुने समयमा धोका दिन्छन् भनेर कल्पना समेत गरेको थिएनौं’ सुब्बाले अनलाइनखबरसँग भन्नुभयो-’अब यो पार्टीको पछि लाग्नुको अर्थ छैन भन्ने निष्कर्षमा पुगेका छौं ।’

एमाले बाम्हण क्षेत्रीको मात्र पार्टी भएको भन्दै उहाँले अब बन्ने नयाँ पार्टीमा सबै अटाउने बताउनु भयो । ‘अहिले हामी नयाँ पार्टी गठनको पहिलो चरणमा छौं’ सुब्बाले भन्नुभयो-’हामी पार्टीमा प्रष्ट विचार भएका सबै अटाउँछन् र हाम्रो एजेण्डा पहिचानसहितको संघीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, मजदुर, श्रमजीवीको पक्षमा नै हुन्छ ।’ पार्टीको नाम तय भइनसकेको तर संघीयता, गणतन्त्र लगायतलाई सम्वोधन गर्ने गरी नामाकरण गर्नेबारे छलफल चलिरहकेको अर्का एक नेताले बताए ।http://onlinekhabar.com/wp-content/uploads/2012/03/ashok-rai_uml_vp.jpg

श्रोतका अनुसार आदिवासी जानजाति र मधेसी नेताहरुले गठन गर्ने पार्टीको नेतृत्व उपाध्यक्ष राईले गर्ने लगभग पक्का छ । नयाँ पार्टी गठन गर्दै हो ? भन्ने हाम्रो प्रश्नमा राईले अनकनाउँदै भन्नुभयो-’कसले भन्यो तपाईलाई ? अहिले त्यस्तो हैन ।’ राईले हालै मात्र स्थायी समितिको बैठकमा पहिचानसहितको संघीयता स्वीकार नगरिए पार्टी छाड्ने चेतावनी दिइसक्नु भएको छ । श्रोतका अनुसार एमालेका जनजाति नेताहरु राई र सुब्बासँगै रामचन्द्र झा, किरण गुरुङ, दलबहादुर राना लगायतका नेताहरु नयाँ पार्टी गठनमा सक्रिय छन् । नयाँ पार्टी गठनकै तयारी स्वरुप सभासद पासाङ शेर्पाले हालै मात्र एमाले छाडेको घोषणा गर्नु भएको थियो भने उपत्याकाका पुराना नेता मंगलसिद्धि मानन्धरले राजीनामा पत्र बोकेर हिडिरहनुभएको छ ।

आदिवासी जनजाति र मधेसी नेताहरु पार्टी छाड्ने तयारी गरेपछि दोस्रा तहका नेताहरु भने फकाउन लागेका छन् ।
Tags: , ,