'हल्लाकै भर'मा २ सय प्रहरीको राजीनामा


केपी ढुंगाना, काठमाडौं, असार १३- प्रहरी प्रधान कार्यालयले अवकासपछि पाइने उपचार खर्च कट्टा गर्न लागेको भन्ने चर्चासँगै २ सयभन्दा बढी प्रहरीले राजीनामा दिएका छन्। साउनदेखि प्रहरी अस्पतालको स्तरवृद्धिका लागि उपचार बापतको रकम कट्टा हुने खबर फैलिएपछि तल्ला दर्जाका प्रहरीले राजीनामा बुझाएका हुन् । 
साताअघि प्रहरी अस्पतालको अवस्था सुधार्न प्रहरी प्रधान कार्यालयले औषधी उपचार बापतको एकमुष्ठ रकम कट्टा गर्न लागेको चर्चा सुरु भएको थियो। प्रधान कार्यालयका प्रमुखले त्यसलाई हल्ला भनी स्पष्ट पारे पनि राजीनामा दिने क्रम रोकिएको छैन।
प्रहरी स्रोतका अनुसार दैनिक ३० बढी प्रहरीको राजीनामा आइरहेको छ। काठमाडौंमा सातामा ५० जनाले राजीनामा बुझाएका छन्। स्रोतका अनुसार राजीनामा दिनेमा सइभन्दा तल्लोतहको संख्या धेरै छ। प्रहरी स्रोतका अनुसार राजीनामा बुझाउनेमा १५ वर्ष सेवाअवधि पूरा गरेका तल्लातहका प्रहरी बढी छन् ।
सइभन्दा माथिल्ला तहका प्रहरीलाई यो हल्लाले असर पारेको छैन। सम्बन्धित कार्यालय प्रमुखले जति सम्झाए पनि तल्लो तहका प्रहरीको राजीनामा आउनेक्रम नरोकिएपछि प्रहरी प्रधान कार्यालयको प्रशासन विभागले सोमबार सर्कुलर जारी गर्दै राजीनामा नदिन निर्देशन दिएको छ। सर्कुलरपछि पनि राजीनामाको शृंखला नरोकिएपछि राजीनामा स्वीकृत नगर्न केन्द्रले निर्देशन दिएको छ। 

Tags: ,