फागुन १, अर्घाखाँची/एकीकृत नेकपा माओवादीले जनयुद्धको औचित्यता नरहेको निष्कर्ष निकालिरहेका बेला नेकपा माओवादी अर्घाखाँचीले भने जनयुद्ध जारी रहेको कारण थप बलिदानी आवश्यक रहेको भन्दै जनयुद्ध स्थापनाको १८ औं बार्षिक उत्सव विविध सांस्कृतिक कार्यक्रम सहित मनाएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै बक्ताहरुले जनयुद्धको निरन्तरतामा जोड दिएका थिए । उनीहरुले एकीकृत माओवादीले जनतालाई धोका दिएको भन्दै विद्रोहको झण्डालाई आफुहरुले झुक्न नदिने बताए । उनीहरुले वद्रोह जनताको अधिकार भन्दै आफ्नो अधिकार सुनिश्चित नहुँदासम्म र जनवादी राज्यसत्ता स्थापना नहुँदासम्म निरन्तर लडिरहने प्रतिवद्धता व्यक्त गरे ।
काँग्रेस एमाले लगायतका पार्टीहरु केवल कुर्सी पाउनका लागि आन्दोलन गरिरहेको र एमाओवादी नेतृत्व कुर्सीमा टाँसिइरहने मानसिकतामा रहेका कारण देशको राजनीतिक अवस्था झन जटिल वनिरहेको उनीहरुको भनाई रहेको थियो । “होइन भने उनीहरुको आन्दोलनमा जनजिवीकाको सवाल खै ?” माओवादी जिल्ला सह–इन्चार्ज भोला वस्यालले भने “यो केवल कुर्सी नपाएको झोंकमा देखिएको आक्रोश मात्र हो ।”
कार्यक्रममा माओवादी जिल्ला सह–इन्चार्ज भोला वस्याल सहित जिल्ला सेक्रेटरी बाबुराम घिमिरे (भूवन), क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शोभाखर पन्थी लगायतका बक्ताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नयाँ विचार सास्कृतिक परिवारका कलाकारहरुले मन छुने विभिन्न खालका गित संगित प्रस्तुत गरेका थिए ।
.jpg)
