पोखरामा स्वतन्त्र पत्रकार संघ नेपालको गठन



छवि मगर, पोखरा २५ फागुन । पोखरामा वुधवार सम्पन्न क्रियाशील स्वतन्त्र पत्रकारहरुको वृहत् भेलाले स्वतन्त्र पत्रकार संघ नेपाल तदर्थ समिति गठन गरेको छ ।

भेलाले अग्रज पत्रकार कृष्णप्रसाद वाँस्तोलाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिका सदस्यहरुमा कमल पौडेल अथक, बी।बी। आले, प्रेम नेपाली, कृष्ण थापा, दुर्गा अधिकारी, आरजु विष्ट सल्यानी, मनोज घर्तीमगर, ऋषि वराल, शीला गुरुङ र रुबी बाँस्तोला रहेका छन् । कार्य समितिका सदस्यहरुको पद विभाजन समितिको बैठकले गर्ने जिम्मा भेलाले दिएको छ ।

यसैगरी भेलाले नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । समितिका सदस्यहरुमा पूर्णचन्द्र घिमिरे र माधव वियोगी रहेका छन् ।

सोही भेलाले स्वतन्त्रता आन्दोलनलाई समेट्नेगरी स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । स्मारिका प्रकाशनका लागि यज्ञप्रसाद बाँस्तोलाको संयोजकत्वमा विनोद धौलागिरि र रोहितराज पराजुली सदस्य रहेको स्मारिका प्रकाशन समिति समेत गठन गरेको छ ।

भेलाले नौं बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको छ । सो घोषणापत्रमा पत्रकारिताका सन्दर्भमा पत्रकारहरु दलीय आवद्धताबाट अलग रहने, पत्रकारितामाथिको दलीय हस्तक्षेप स्वीकार नगर्ने र नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्नेमा जोड दिइएको छ ।

यसैगरी, नेपाल पत्रकार महासंघको नाममा दलीय भागवण्डाको आधारमा गरिएका विधि विपरीतका गतिविधि अस्वीकार गर्ने, विधिको शासनको पूर्ण पालना हुनुपर्ने, श्रमजीवी पत्रकार ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गरिनुपर्ने, पत्रकारहरुको पेशागत सुरक्षाको सुनिश्चितता गरिनुपर्ने, दण्डहिनताको अन्त्य गरिनुपर्ने र विभिन्न दलीय पत्रकार संगठनहरुमा रहेका पत्रकारहरुलाई स्वतन्त्र बन्न र स्वतन्त्र पत्रकार संघमा आवद्ध हुन आव्हान गर्ने समेत पोखरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

यसअघि भएको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै अग्रज पत्रकार चित्रांगत सिग्देलले स्वतन्त्रता नै जीवनको अस्तित्व भएको बताए । “कसैको अधीनमा बसेर स्वतन्त्रताको रक्षा हुन सक्तैन”, उनले भने ,“स्वतन्त्र पत्रकारिता गर्ने साहस गरेर तपाईहरुले जीवन रोज्नुभयो ।” पत्रकारहरुको स्वतन्त्रताको आन्दोलनको प्रशंसा गर्दै उनले स्वतन्त्रता मानवीय स्वभाव भएको र यसमा आँच पुगेमा पीडा हुने भए पनि स्वार्थका कारण व्यक्तिले पीडा सहने समेत उनले उल्लेख गरे ।

स्वतन्त्रता सेनानी केशवराज पराजुलीले पत्रकारिता पेशा आफैमा स्वतन्त्र भए पनि विभिन्न दलका झण्डामुनी रहेका व्यक्तिहरुको पत्रकार महासंघमा हावी भएको हुँदा सो प्रवृत्तिविरुद्ध पत्रकारहरु एकजुट हुनुपर्ने बताए । उनले भने, “दलको झण्डामुनी बसेर स्वतन्त्र छौं भन्ने पत्रकारहरु नक्कली हुन् ।”

अग्रज पत्रकार तेजनाथ घिमिरेले विधि विधानलाई मिच्दै समस्त पत्रकारहरुको अभिमत प्राप्त नगरेकाहरु गलत ढोकाबाट पसेर गरेको शासनको विरोध गर्नुपर्ने बताए । “स्वतन्त्र पत्रकारहरुले अनुशासन पालन गरे पनि शासन मान्न तयार हुनुहुँदैन”, उनले भने ।

नेपाल पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले स्वतन्त्रता कठिन विषय नभए पनि आवरणमा स्वतन्त्र देखाउन खोज्ने र सारमा अरुको अधीनमा रहने भएका कारण पत्रकारहरु साँचो अर्थमा स्वतन्त्र हुन नसकेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सल्लाहकार भूपनिधि पन्तले पार्टीको पोषणमा बाँच्ने पत्रकारिता पित पत्रकारिता बन्ने र त्यो अखबार पार्टीको बुलेटिन बन्ने उल्लेख गरे ।

अग्रज फोटोपत्रकार विश्व शाक्यले स्वतन्त्र पत्रकारिता असहज र कष्टपूर्ण रहेको भन्दै आफ्नो कामको मूल्यांकन आफै गरी आत्मसन्तुष्टि लिन सक्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार एवम् पूर्व अध्यक्ष नारायण कार्कीले पत्रकारिताका नाममा दलका भातृ संगठनबाट भएका गलत क्रियाकलापका विरुद्ध संघर्ष गर्नुपर्ने बताए । “पत्रकारितामा स्वतन्त्रताको नयाँ आयाम थप गर्नुपर्ने भएकोले हामीले स्वतन्त्र पत्रकारिताको लागि पहल गरेका हौं”, उनले भने, “मुलुक जटिलतामा रहेको वर्तमान अवस्थामा पत्रकारहरुले स्वतन्त्र भएर पत्रकारिता गर्न नसकेमा मात्र मुलुक भूमरीमा फस्छ र हामीले स्वतन्त्र पत्रकारिता गर्न सकेमा मात्र मुलुक जटिल अवस्थाबाट पार लाग्न सक्छ ।” पोखरामा पत्रकारिताको जग हाल्ने अगुवाहरुले स्वतन्त्र पत्रकारिताको अभियानलाई अगाडि बढाउन सहयोग गरेकोमा उनले खुशी व्यक्त गरे ।

भेला आयोजक समितिका संयोजक कृष्णप्रसाद बाँस्तोलाले पत्रकारिता आफैमा स्वतन्त्र हुनुपर्ने भए पनि पत्रकारिताका संस्थाहरु स्वतन्त्र नभएपछि स्वतन्त्र पत्रकार संघ गठन गर्नुपरेको बताए । भेला हुनुअघिसम्म १ सय ३५ जनाले स्वतन्त्र रहने घोषणा गरिसकेको जानकारी दिंदै संयोजक बाँस्तोलाले स्वतन्त्र पत्रकारहरुलाई दलले साथ नदिने भएकोले स्वतन्त्र पत्रकारिता चुनौतिपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गरे ।

तदर्थ समितिलाई शुभकामना दिंदै भेलाको बन्द सत्रका अध्यक्ष दीलिप राईले स्वतन्त्र पत्रकारिता युगको माग भएकोले पार्टीको बुई चढेर गरिने पत्रकारिता स्वतन्त्र हुन नसक्ने विचार व्यक्त गरे ।

कार्यक्रम उद्घाटन सत्रमा आरसी टाइम्स साप्ताहिकका सम्पादक रामचन्द्र बराल, रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा र भेला आयोजक समितिका सदस्य एवम् रेडियो सफलताकी कार्यकारी निर्देशक दुर्गा अधिकारीले स्वतन्त्र पत्रकारिताका विभिन्न पक्षमा आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रमको आरम्भमा अग्रज पत्रकारहरुबाट अवीर लगाई होली मनाइएको थियो ।
Tags: , ,