काठमाडौं, जेठ १७ – उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले
नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनमा आफु नरहेको स्पष्ट पारेको छ ।
बुधवार रिपोर्टर्स क्लब काठमाडौंमा पत्रकार सम्मेलन गरेर फोरमले आफू एमाले र
काँग्रेसले नेतृत्व गरेको गठबन्धनमा नरहेको भन्दै अलग्गै आन्दोलनमा जाने
बताएको छ ।
पत्रकार सम्मेलनमा फोरम नेपालका महासचिव रामसहाय यादवले सरकारको कदम
असम्बैधानिक भन्ने विषयमा काँग्रेस र एमालेसँग आफूहरु सहमत भए पनि अन्य
विषयमा मतभेद रहेका बताउनुभयो । उहाँले राष्ट्रपतिको पछिल्लो कदमको स्वागत
गर्दै राष्ट्रिय सहमतिको आधारमा नयाँ सरकार गठन गर्न माग गर्नुभयो ।
माओवादी, काँग्रेस र एमाले मधेस विरोधी भएको आरोप लगाउँदै आफ्नो पार्टीले
तीन वटै दललाई समान रुपमा हेर्ने भएकोले कसैको गठबन्धनमा बस्नै नसक्ने
ठोकुवा गर्नुभयो । आफ्नो पार्टी बृहत मधेसी मोर्चा कायमै रहेको भन्दै
उहाँले सरकारको कदमको विरोध गर्न नसक्ने सत्ता पक्षीयहरुले आफ्नो पार्टी
मोर्चामा नरहेको हल्ला फिँजाएको भन्दै आक्रोस ब्यक्त गर्नुभयो ।
‘हाम्रो पार्टीलाई मोर्चामा छैन भन्नेहरु अहिले सरकारमा भएका मधेसवादी र
माओवादी दलहरु हुन्’, यादवले भन्नुभयो । उहाँले संविधान जारी गर्ने अवस्था
हुँदाहुँदै संघीयता विरोधीले संविधानसभा विघठन गरेको आरोप लगाउनुभयो ।
.jpg)
