ललितपुरको कुपण्डोलस्थित एमाओवादीको जनवर्गीय सङ्गठनको कार्यालयमा आज बसेको बैठकले भोलि आफ्नो विचार समूहको केन्द्रीय बैठक बस्ने निर्णयसमेत गरेको छ।
वैद्यपक्षमा रहेका पोलिटव्युरो सदस्य नारायण शर्माले आजको बैठकमा भोलि बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल गरी सो एजेण्डा तय गरेको बताए।
उनका अनुसार भोलिको बैठकमा पार्टी एकता, सरकार, चुनाव, संविधानलगायतका विषयमा सो विचार समूहका एजेण्डा प्रस्तुत गरिने छ।
बैठकमा पार्टी संस्थापन समूहले पहिचानसहितको सङ्घीयताको पक्ष लिँदा संविधान बन्न नसकेको भन्दै सहानुभूति लिन खोजेको परिस्थितिमा सो भ्रमलाई कसरी चिर्ने भन्नेबारे पनि छलफल भएको थियो।
बैठकमा अधिकांश पोलिटव्युरो सदस्यहरूले पार्टी एक भएर जानसक्ने सम्भावना क्षीण भएको भन्दै संस्थापन समूहसित निर्णायक वार्ता गर्नुपर्ने भनाइ राखेका थिए।
वैद्य समूहले जेठको अन्तिम साता राष्ट्रिय भेला गर्ने तयारी गरिरहेको केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिए। रासस
.jpg)
