मधेसी, जानजाती र थारुले भने-संघीयता विनाको संविधान जलाउँछौं

१८ चैत, काठमाडौं । मधेसी, आदिवासी जानजाति र थारु नेताहरुले एउटै मञ्चमा उत्रिएर पहिचानका आधारमा संघीयतासहितको संविधानका लागि खबरदारी गरेका छन् । शनिबार राजधानीको खुलामञ्चमा आयोजित आमसभामा नेताहरुले संघीयताविनाको संविधान आए नमान्ने र देशभर नै जलाउन चेतावनी दिएका छन् । संघीयताले मुलुक नटुक्रने भन्दै उनीहरुले पहिचानका आधारमा संघीयता नआए मुलुकमा रगतको खोला बग्ने चेतावनी दिए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संघीयताविनाको संविधान स्वीकार्य नहुने बताउनु भयो । उहाँले भन्नुभयो-’संघीयताविनाको संविधान ल्याउने प्रयास गर्नु भो भने मधेसी आदिवासी, जनजाति हामी सबै एकै ठाउँमा उभिन्छौं र मुलुकमा आगो लाग्छ ।’ संघीयता विनाको संविधान आए मधेसी र आदिवासी जनता आफैले संघीयतासहितको संविधान लेख्ने बताउनु भयो । आफूले तीन दललाई संघीयता विनाको संविधान नमान्ने बताइसकेको भन्दै उहाँले त्यसलाई नसुने उनीहरुको हातबाट सदाका लागि राज्य सत्ता गुम्ने चेतावनी दिनुभयो ।
तमपोलाका अध्यक्ष महन्थ ठाकुरले संघीयताले मुलुकलाई झन एकतानबद्ध बनाउने बताउनु भयो । आफूहरुलाई राष्ट्रघाती र विखण्डकारी भन्ने गरेको भन्दै उहाँले भन्नुभयो-’हतियार शासकको हातमा छ, अनि हामी कसरी आतंककारी ?’ मधेसको आफ्नो छुट्टै इतिहास रहेको भन्दै उहाँले यसलाई कसैले खोस्न नसक्ने बताउनु भयो । तमपोलाका अध्यक्ष ठाकुरले राज्यले संधै मधेसमाथि दमन गरेको भन्दै अब पिछडिएका सबै समुदाय एक हुने बताउनु भयो ।
आमसभामा फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले संघीयतासहितको संविधान नबने नेताहरुलाई सिंहदरवारबाट घोक्राएर निकाल्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’अझै पनि समय छ, तत्काल सच्चिउ, हैन भने कासी जानुपर्ला, हामी सिंहदरवारबाट घोक्राएर निकालिदिन्छौं ।’ तमपोपा नेपालका अध्यक्ष महेन्द्र यादवले संघीयताका लागि महाभारत जस्तै लडाई लड्न आफूहरु तयार रहेको बताउनु भयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीयतालाई स्वीकार नगरिए देश टुक्रिने चेतावनी दिनुभयो ।
नेवा संघर्ष समितिका मल्लक सुन्दरले अब संघीयता सहितको संविधानका लागि मधेसी, आदिवासी जानजाति र थारु एक भएको बताउनु भयो । उहाँले भन्नुभयो-’संघीयता भएन भने मुलुकमा रगतको खोला बग्छ, त्यस्तो आन्दोलनको सुरुवात हुन्छ ।’
Tags: ,