एसएलसीमा आधाभन्दा बढी फेल

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बुधबार प्रकाशन गरेको एसएलसी परीक्षाको नतिजामा आधाभन्दा फेल भएका छन्।  परीक्षामा सम्मिलित कूल ४ लाख ९६ हजार २८ परीक्षार्थीमध्ये नियमिततर्फ ४७.१६ प्रतिशत र एक्जाम्टेडतर्फ १३.७० प्रतिशत विद्यार्थी पास भएका छन्।  
नियमिततर्फ ४ लाख १९ हजार १९ परीक्षार्थीमध्ये १ लाख ९७ हजार ६ सय ३८ पास भएका छन्।
परीक्षा नियन्त्रक डिल्लीराम रिमालका अनुसार यसपटक दुई विषय फेल भएका परीक्षार्थीलाई बढीमा ५ अंक ग्रेस दिइए पनि नतिजा गत वर्षभन्दा ८.३४ प्रतिशतले घटेको छ। गत वर्ष ५५.५ प्रतिशत विद्यार्थी पास भएका थिए।
यसैगरी एक्जाम्टेडतर्फ ७६ हजार ७ सय ७९ परीक्षार्थीमध्ये १० हजार ५ सय ४९ पास भएका छन्।
यसपटक परीक्षा सकिएको ७६ दिनमा नतिजा प्रकाशन गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। रिमालले भने, 'किन नतिजा घट्यो भन्ने विश्लेषण गरेका छैनौं। विश्लेषण गरेर पछि जानकारी गराउने छौं। जस्तो नतिजा आयो, हामीले त्यस्तै प्रकाशन गरेका हौं।' यसपालि छात्रतर्फ ५१.८१ र छात्रातर्फ ४२.२६ प्रतिशत पास भएका छन्।
दोहोरो रजिस्ट्रेसन फारम भरेकाले केही परीक्षार्थीको नतिजा रोकिएको छ। वास्तविक विद्यालय यकीन भएपछि ती विद्यार्थीको नतिजा प्रकाशन गर्दै लगिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यस वर्ष १७ हजार ७ सय ६० विशिष्ट र ७७ हजार ३ सय ८३ विद्यार्थी प्रथम श्रेणीमा पास भएका छन्। यसैगरी द्वितीय श्रेणीमा सबैभन्दा बढी १ लाख १ हजार ४ सय २५ विद्यार्थी पास भएका छन् । सबैभन्दा कम तृतीय श्रेणीमा ११ हजार ६ सय १९ पास भएका छन्।
एक परीक्षा केन्द्रको परीक्षा रद्द गरिएको र केन्द्राध्यक्षलाई कारबाही अगाडि बढाएको उनले जानकारी दिए।परीक्षामा अनियमित कार्य गर्ने ५ सय १० परिक्षार्थीलाई निष्कासन तथा ९ सय २७ परीक्षार्थीको परीक्षा रद्द गरिएको रिमालले बताए।
Tags: ,