२६ साउन, काठमाडौं । आफ्नै नेतृत्वमा सरकार गठन गर्न भन्दै नेकपा-माओवादीले साना ९ दल तथा संगठनसँग मिलेर ‘नेपाल संघीय जनगणतान्त्रिक मोर्चा’ गठन गरेको छ ।
मोर्चाले एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, एमाले लगायतका दलहरु असफल भइसकेको भन्दै नेतृत्व स्वीकार्य नहुने बताएको छ । ‘बाबुराम सरकार कायम राख्न बालुवाटारे मोर्चा बन्दैछ, कांग्रेसको नेतृत्वमा सरकार बनाउन अर्को मोर्चा बन्दैछ । दुबै असफल भइसकेकाहरुको नेतृत्व हामीलाई स्वीकार्य छैन’ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवं नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भन्नुभयो-’यो तेस्रो मोर्चा हो । क्रान्तिकारी मोर्चाकै नेतृत्वमा सरकार बन्नुपर्छ ।’ उहाँले राजनीतिक गतिरोध अन्त्यका लागि गोलमेच सम्मेलन हुनुपर्ने पनि दोहोर्याउनु भयो ।
मोर्चाले बाबुराम सरकार हटाउन र राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै आन्दोलन पनि घोषणा गरेको छ । आन्दोलन अन्तरगत पहिलो चरणमा साउन ३० गतेदेखि १६ गतेसम्म देशभर नै ‘राजनीतिक संकट समाधानका लागि राष्ट्रिय जागरण अभियान’ चलाउने बताएको छ । गोलमेच सम्मेलनको औचित्य पुष्टि गर्न यही साउन ३० गते राजधानीमा अन्तक्रिर्या गर्ने गजुरेलले जानकारी दिनुभयो । साथै देशभर सभा, प्रदर्शन लगायतका दबावमुलक आन्दोलन गरिने मोर्चाले बताएको छ ।
मोर्चामा नेकपा-माओवादीसँगै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा एकीकृत, ताम्सालिङ नेपाल राष्ट्रिय दल, नेपाल नागरिक पार्टी, जनमुक्ति पार्टी, थारु मुक्ति संग्राम लगायतका दल तथा संगठन छन् ।
.jpg)
