२६ असार, काठमाडौं । शुक्रबार यातायात व्यवसायीले भाडाका सवारी साधन चलाएनन् । अघिल्लो दिनसम्म धेरैजना अन्योलमा थिए, भाडाका मात्रै नचल्ने हुन् की सबै ठप्प हुने हो भनेर । चक्काजाम र बन्द सहँदै आएका सर्वसाधारणलाई फेरि सडक खाली हुने भयो भन्ने लागेको थियो । तर हैन रहेछ । व्यवसायीले सरकारलाई माग पूरा गराउनको लागि दबाब दिन भाडाका गाडी मात्र नचलाउने भनेका रहेछन् ।
यातायात व्यवसायी आफैंको बन्द भएकाले शुक्रबार सडकमा भाडाका कुनै पनि गाडी देखिएनन् । आफ्नो गाडी हुनेहरुले मात्र निष्पिmक्री गाडी चलाए । आफ्नो साधन नभएका लखरलखर हिँडेरै गन्तव्यमा लागे ।
सामान्यतया चक्काजाम भनेपछि सडकमा गाडी कम मात्रै देखिनुपर्ने हो । तर शुक्रबार भाडाका सवारी मात्र बन्द भएकाले सडक खाली देखिएन । निजी गाडीको चहलपहल निकै देखियो । अरुबेला जस्तै मुख्य सडकमा गाडीको जाम नै भयो । ‘सडक खाली भएपछि मनलागी ढंगले चलाउँछन्, जाम त हुने नै भयो नि’ ट्राफिक कन्ट्रोलका एकजना प्रहरीले अनलाइनखबरलाई भने ।
तर जाम हुनुको कारण यो मात्र होइन । ‘सडकमा सरकारीभन्दा निजी गाडी बढी गुड्छन्, अरु बेला पनि निजी गाडीकै कारण जाम हुने गर्छ’ ट्राफिक प्रहरी प्रवक्ता पवन गिरीले भन्नुभयो -’भाडाका गाडी कम भएकाले यी गाडी नगुड्दा पनि जाम हुनु स्वभाविक नै हो ।’
ट्राफिक प्रहरीका अनुसार देशभर झण्डै १२ लाखको हाराहारीमा सवारी दर्ता छन् । तीमध्ये आधाभन्दा बढी अर्थात झण्डै ७ लाख राजधानीकै सडकमा कुद्छन् । त्यसमा पनि निजी धेरै छन् । निजी गाडीको संख्या धेरै भएकाले भाडाका सवारी बन्द भएको दिन पनि सडकमा सवारी चाप भयो ।
.jpg)
